‘अपराधका योजनाहरु होटल तथा रेस्टुरेण्टमा’

९ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

युवराज रेग्मी,
गौरादह ।

गौरादह नगरपालिका गौरादह अन्तर्गतको इलाका प्रहरी कार्यालय गौरादहले नगरपालिकाका वडा नं. १,२ र ३ मा सञ्चालित होटल तथा रेस्टुरेण्ट व्यवसायीहरुलाई सुरक्षा सम्बन्धी सचेतना दिएको छ ।

इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रहरी नायव निरीक्षक रमेशकुमार मेहताले कार्यक्रमको सहजीकरण गर्दै अपराध नियन्त्रणका निमित्त होटल व्यवसायीहरु मुख्य कडीको रुपमा रहन सक्ने बताए । होटल व्यवसायीहरु सूचनाको मेरुदण्ड नै भएको बताउँदै उनले आपराधिक मानसिकताका व्यक्तिहरुको योजना तथा गफगाफको मुख्य केन्द्र होटल तथा रेस्टुरेण्ट भएको बताए ।

अक्सर मानिसहरु सुख–दुःख, जन्म–मृत्यु संस्कार, मिलन–विछोड, सफलता–असफलता लगायत सबै बहानामा मनोरञ्जनको निमित्त मादकपदार्थ सेबन गर्न होटल तथा रेस्टुरेण्टमा जान सक्ने उनको भनाइ छ । कार्यक्रममा प्रनानि मेहताले विभिन्न आपराधिक योजनाहरु तथा आपराधिक गतिविधि पश्चातको समीक्षा तथा छलफल पनि मादकपदार्थ सेवन गर्ने क्रममा गर्ने आंकलन प्रस्तुत गरेका थिए ।

सूचना लुकाउँदा आफू समेत अपराधीको निशानामा पर्न सक्ने सम्भावना उत्तिकै रहने बताउँदै उनले आपराधिक गतिविधिको सूचना निर्धक्क साथ प्रहरीलाई जानकारी दिई आपराधिक गतिविधिलाई दुरुत्साहन गर्न तथा आपराधिक गतिविधि नियन्त्रण कार्यका निमित्त आवश्यक सहयोग गर्न आग्रह गर्दै व्यवसायीहरुलाई निर्धक्क साथ सुरक्षित रही आफ्नो व्यवसाय गर्न आवश्यक सल्लाह र सुझाव समेत दिएका थिए ।

कार्यक्रममा सम्बन्धित वडामा होटल तथा रेस्टुरेण्ट व्यवसाय गर्ने ४३ जना व्यवसायीहरु सचेतना कार्यक्रममा सहभागी भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here