कलावस्तु हाम्रा गौरव हुन्

0
18

विभिन्न समयमा नेपालबाट चोरी भएका पुरातात्विक महत्वका कलात्मक वस्तुहरु फिर्ता गरिएको छ । पछिल्लो पटक एक्काइस वटा त्यस्ता ऐतिहासिक एवम् पुरातात्विक वस्तु अमेरिकाबाट फिर्ता गरिएको पुरातात्विक विभागले जनाएको छ । नेपाल प्राचीनकालदेखि नै कलाकृतिका लागि विश्व प्रशिद्ध छ । नेपाली कलाकार अरनिकोले युवा उमेरमै अस्सी जना कलाकारको नेतृत्व गर्दै चीनका सम्राटको आमन्त्रणमा त्यहाँ बिग्रिएका, भत्किएका र नयाँ मूर्ति एवम् भवनको मर्मतसम्भार तथा निर्माण गरेको इतिहास छ । यसले कलाकौशलमा नेपालको उचाइ कति थियो भन्ने उदाहरण दिन्छ ।

सांस्कृतिक सम्पदाभित्र पर्ने कलावस्तुको विशिष्ट गुण हुन्छ । यस्ता वस्तु संकलन गर्ने कतिपयको रुचि हुन्छ भने कतिले ती वस्तुको सौन्दर्यबाट आकर्षित भएर पुरातात्विक महवका त्यस्ता कलावस्तु संकलन गर्छन् । समाजका सम्भ्रान्त वर्गले यस्ता वस्तुको संकलन गर्ने रुचि राख्छन् जसका कारण सम्पदाहरुको चोरी, ओसारपसार र अवैध निकासीलाई बढावा दिन्छ । देशमा रहेका त्यस्ता प्राचीन, ऐतिहासिक एवम् पुरातत्व महत्वका वस्तुहरुको संरक्षणका लागि पुरातत्व विभाग नै अस्तित्व छ, तर उसलाई पनि अहिलेसम्म कति यस्ता सम्पदाहरु बाहिरिए भन्ने यकिन तथ्यांक छैन । सन् १९५० पछि मात्र यस्ता सांस्कृतिक सम्पदाहरु हजारौंको संख्यामा बाहिरिएको बताइन्छ ।

अमेरिकाका विभिन्न संग्रहालय, अक्सन हाउस र व्यक्तिगत संग्रहमा रहेका कलावस्तु त्यहाँस्थित घरबास सुरक्षा अनुसन्धान विभाग एवम् म्यानहटन जिल्ला न्यायाधीवक्ताको कार्यालयको सहयोगमा नेपाल ल्याइएको हो । त्यस्ता पुरातात्विक वस्तु नेपालीले पहिचान गरेपछि मात्र फिर्ता ल्याउन पाइन्छ । कलावस्तुको अवलोकन पछि नेपालको हो भन्ने पहिचान, प्रमाण पुगेपछि मात्र प्रक्रिया पूरा गरेर यस्ता वस्तु तिब्बत, कलकत्ता, बेलायत, अष्ट्रिया र जर्मनीबाट ल्याइएको विभागले जनाएको छ । प्राचीन कलावस्तुको अध्ययन–अनुसन्धान गर्ने क्रम बढेसँगै चोरीका घटनाहरु पनि बढ्न थालेका थिए । पछिल्लो समय नेपालको गौरव बढाउने लिच्छवीकालीन तथा मल्लकालीन सांस्कृतिक सम्पदाको कलात्मकता र विशिष्टताले हराउन थालेका मूर्तिहरु एवम् कलात्मक वस्तु फिर्ता हुनु सुखद् कुरा हो । यद्यपि यसको प्रक्रिया झञ्झटिलो र खर्चिलो छ । तर, अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून तथा सम्झौताका कारण चोरिएका यस्ता वस्तु फिर्ता ल्याउन सहज भएको छ । त्यसका लागि सरकारले नै अग्रसरता देखाउनुपर्छ र हराएका कलाकृतिहरु यथास्थानमा सुुरक्षित गर्नुपर्छ । त्यसो भयो भने पुर्खाको गौरवलाई बचाउन र नेपालको सम्मान बढाउन सहज हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here