झापा,
संयुक्त राज्य अरब इमिरेट्स (यूएई) को होटल जुमेरा विश्वकै प्रशिद्ध होटल मध्येको एक हो । यो सेभेनस्टार ब्राण्डको होटल हो । संयुक्त राज्य अरब इमिरेट्स (यूएई) का शेख महमद् अर्थात राजपरिवारका सदस्यको लगानीमा सञ्चालित यो होटल आफैंमा विशिष्ठकृत रहेको छ ।
त्यस्तै यूएईकै अर्काे प्रशिद्ध रेष्टुरेण्ड हो ‘सि फुड’। यो रेष्टुरेण्टको नाम यूएईमा मात्रै सीमित छैन । यो रेष्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाका कारण ‘सि फुड रेष्टुरेण्ट एण्ड वार’को चर्चा विश्वभर हुने गरेको छ । होटलमा आउने अतिथिको सत्कारदेखि पाकशालामा बनेको स्वादिष्ट परिकारका कारण विश्वभर होटल जुमेर र सि फुड रेष्टुरेण्टको चर्चा हुने गरेको बताउँछन्– झापा बिर्तामोड निवासी माधव पराजुली । ११ वर्षसम्म होटल जुमेरामा सुपरभाइजरको जिम्मेवारी सम्हालेर स्वदेश फर्किएका पराजुली पेशाले हाल शिक्षक हुन् । उनी खाना बनाउन औधि रुचाउँछन् । नरुचाउन् पनि किन उनको विषय नै होटल मेनेजमेन्ट हो, जहाँ धेरै प्रयोगात्मक परीक्षण हुन्छ । प्रयोगात्मक परीक्षणका लागि खाना बनाउनै पर्ने हुन्छ । त्यो पनि आफैंले । पेशाले शिक्षक भएपनि विद्यालयमै खाना बनाउन सिकाउनु उनको दैनिकी नै हुन्छ ।
संयुक्त राज्य अरब इमिरेट्स (यूएई)को जुमेरा होटलमा रहँदा उनले सुपरभाइजरको जिम्मेवारी मात्र सम्हालेनन् । चतु¥याईका कारण उनले आफूले आर्जेको ज्ञानले विश्वका प्रशिद्ध ‘सेफ’संग कामसमेत गरे । जसका कारण उनले अध्ययनसंँगै विश्वका प्रशिद्ध होटलका किचनमा पुगेर त्यहाँ बन्ने परिकार र स्वादको विषयमा ज्ञान आर्जन गरे । जसका कारण उनी अहिले ‘पाकशालाका किङ’ नै बनेका छन् ।
सामान्य परिवारमा जन्मिएका उनको रुची होटल मेनेजमेन्ट होइन । तर, प्लस टु पछि उनले यो विधा रोजे । जसले उनको जीवनलाई नै मोडिदियो । जसका कारण उनी अहिले ‘सेफ’का रुपमा परिचित छन् ।
बिर्तामोडस्थित वाल्मीकि एजुकेशन फाउण्डेशनमा होटल मेनेजमेन्ट अध्ययापन गराउँदै आएका पराजुलीले २०५५ सालमा लक्ष्मी वल्लभ नर्सिङ माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । दमक मल्टिपल कलेजबाट मानविकी संकायबाट प्लस टु गरेका उनले त्यसपछिको शिक्षा होटल मेनेजमेन्ट रोजे ।
उच्च शिक्षा अध्ययनका क्रममा कलेज गएर आएपछिको बचेको समयमा काठमाडौंस्थित आरएमसीटी र खुम्जुङ होटल ट्रेनिङ सेन्टरबाट होटल मेनेजमेन्टको लामो समयसम्म परीक्षण लिएर संयुक्त राज्य अरब इमिरेट्स (यूएई) पुगेका उनले होटल जुमेरामा काम गरे । त्यहाँ रहँदा उनले धेरै नेपालीले पाएको दुःख देखे । नेपालीले विदेशी भूमिमा पाएको दुःखकै कारण उनी नेपाल फर्किए । नेपाल फर्कनुको उनको एउटै उद्देश्य थियो नेपाली विद्यार्थीलाई होटल मेनेजमेन्ट अध्ययापन गराउनु, ताकि उनीहरुले विदेशमा पुगेर दुःख झेल्नु नपरोस् ।
नभन्दै अहिले उनी वाल्मीकिसहित विभिन्न विद्यालयमा होटल मेनेजमेन्ट अध्यापन गराउँदै आएका छन् । दमकको पीसीए, बिर्तामोडको स्प्रिङडेल, झापा प्राविधिक शिक्षालयमा समेत होटल मेनेजमेन्ट विषय अध्यापन गराएका पराजुली अहिले एसियन हस्पिटालिटी कलेजमा समेत कार्यरत छन्, जहाँ उनले दैनिक सयौं विद्यार्थीलाई होटल मेनेजमेन्ट सिकाउँछन् ।
होटल म्यानेजमेन्ट भनेको खना पकाउन सिकाउने मात्र होइन, यो प्राविधिक विषय हो । यो पर्यटकलाई आतिथ्य सत्कार गर्ने, खुवाउने, बसोबासको बन्दोबस्त मिलाउन सिकाइने शिक्षा हो । पर्यटकलाई मुस्कानसहित सत्कार गरेर रमाइलो वातवरणमा बिदाई गर्नेसम्म सिकाउने शिक्षा होटल म्यानेजमेन्ट हो । यही शिक्षा सिकाउन निपूर्ण भएका कारण पराजुली सबैमाझ परिचित छन् ।
नपढेकाहरुले पनि होटल चलाउन सक्छन् । तर, जसले पढेर होटल क्षेत्रमा काम गर्छ उसले दिने सेवामा धेरै फरक हुन्छ – पराजुली भन्छन् – गुणस्तरीय खाना बनाउने क्षमता पनि पढेकासँग हुन्छ । त्यसैले होटल र हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा होटल म्यानेजमेन्ट हो । यसलाई आतिथ्य सत्कार शिक्षा पनि भनिन्छ ।
विद्यार्थीलाई फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउस किपिङ अप्रेसन, होटल एकाउन्ट, फ्रन्ट अफिस, हस्पिटालिटी अध्यापन गराउँदा सिकाइन्छ – पराजुलीले भने – होटल म्यानेजमेन्ट पढेका धेरै विद्यार्थी विदेश जाने गरेका छन् । होटल क्षेत्रमा राम्रो कमाइ हुने भएकाले नेपाली विद्यार्थीको रोजाइ विदेशका स्टार होटल पर्ने गरेको छ । अन्य विषय पढेका भन्दा यो विषय पढेकाको भिसा लाग्ने सम्भावना धेरै हुन्छ । चीन, बहराइन, हङकङ मलेसिया थाइल्यान्ड, अमेरिका, अष्ट्रेलियामा नेपाली विद्यार्थी काम र पढ्नका लागि पुगेका छन् । जाने खर्च भने आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ । इन्टर्नसिपमै विदेश जान सकिने भएकाले राम्रो काम गरे विदेशी होटलले राम्रो तलबमा राख्ने सम्भावना पनि हुन्छ । अन्य विषय पढेकाले भन्दा यो विषय पढेकाले विदेशमा धेरै कमाउन पनि सक्छन् ।
होटल भन्ने बित्तिकै खाना पकाउने मात्र हो भन्ने भ्रम छ– पराजुलीले भने – पछिल्लो समय होटल म्यानेजमेन्टलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने र रोजगारका अवसर सृजना गर्ने क्षेत्र होटल हो ।
आतिथ्य सत्कारदेखि खान बस्नसम्म राम्रो वातवरण चाहिन्छ । त्यो व्यवस्थापन गर्ने भनेको जो कोहीले गर्न सक्दैन । जसले पढेर बुझेर गरेको हुन्छ, उसले मात्र व्यवस्थापन गर्न सक्छ । होटल खोलेर मात्र हुँदैन । राम्रो व्यवस्थापन हुनुपर्छ नेपालका सबै होटलमा त्यस्तो वातावरण छैन– पराजुलीले भने – होटलमा आएका पाहुना चाहे त्यो पर्यटक नै किन नहोस् उनीहरुको चाहना इच्छा पूरा गर्न सक्नुपर्छ । यदि फितलो सेवा भयो भने त्यसले नराम्रो असर पार्छ । त्यसैले होटलका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न होटल म्यानेजमेन्टको भूमिका महत्वपूर्ण हुन्छ ।
होटलमा काम गर्ने मानिसलाई अहिलेपनि तल्लो दर्जामा हेर्ने गरिन्छ– पराजुलीले भने – हामीमा होटलमा काम गर्ने मानिसलाई तल्लो दर्जाका रुपमा हेर्ने गरिएको छ । विश्वमा अधिकतम् मानिसले रुचाएको पेशा होटल व्यवसाय हो –पराजुली भन्छन्– त्यसमा पनि किचन त मुटु नै हो । एउटा होटललाई टिकाउन पनि राम्रो सेफ हुन जरुरी छ ।
आज विश्वभर फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण होटल क्षेत्र नराम्ररी प्रभावित भएको छ । होटलमा आश्रित धेरै मानिस अहिले बेरोजगार छन् ।
अझ नेपालमा सञ्चालित सानादेखि ठूला होटलको समस्या उस्तै छ । नेपालमा पर्यटनको प्रचुर सम्भावना भएर पनि होटल व्यवसायले फड्को मार्न नसकिरहेको अवस्थामा अझ कोरोनाको बढ्दो संक्रमणले यो क्षेत्र थिलथिलिएको छ । यसलाई व्यवस्थित गर्दै लान सरकारले तदारुकता देखाउन जरुरी छ ।
होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीको रुची अधिक भएको र विश्वभर होटललाई राम्रो र सम्मानित क्षेत्र मानिएकाले सरकारले समेत यो क्षेत्रलाई हेर्न जरुरी देखिन्छ – उनले भने ।