मतदाता शिक्षामा ध्यान देऊ

0
248

क्रियाशील राजनीतिक दलहरुका लागि अत्यन्त चटारो छ अहिले । स्थानीय तहको निर्वाचनको प्रचार–प्रसार गर्ने अन्तिम समय भएको र अबको बाँकी दिन मतदातालाई मतदान प्रक्रियाका बारेमा शिक्षा दिनुपर्ने भएकाले चुनौति पनि छ उनीहरुलाई । हामीकहाँ आधुनिक, वैज्ञानिक तथा प्रविधिपूर्ण निर्वाचन नभइरहेका बेला मतदाताद्वारा प्रस्तुत संकेत खेर नजाओस् त्यसतर्फ खासगरी दलहरुले ध्यान दिनु पर्दछ । दलहरुले सदस्यता वितरण गरेकै गणितका आधारमा आफूहरुले मत पाउने आंकलन गर्छन्, त्यसैअनुसार मतदान हुन्छ वा गरिन्छ भन्नेमा पूर्णतः विश्वस्त हुनुहुँदैन । स्थानीय तह जनताको दैन्दिनीसँग जोडिएको, पहुँचमा रहने निकाय भएकाले मतदाताले पनि कुनै दलको कार्यकर्ता नै हुनुपर्छ भन्ने मान्यता राख्नु हुँदैन ।

स्थानीयबासीको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले स्थानीय तहको प्रतिनिधि चयन गर्दा स्थानीय आवश्यकताको पहिचान गर्न सक्ने र त्यसको समाधान खोज्न सक्ने सामथ्र्य भएको पात्रलाई मतदान गर्नुपर्छ । मतदाता कुनै दलका कार्यकर्ता होइनन् र हुँदैनन पनि त्यसैले उनीहरुको विवेकपूर्ण निर्णय समाज परिवर्तनको वाहक हुनुपर्छ । दलहरु आफ्नो दललाई जिताउन जस्तोसुकै कर्म गर्न पछि पर्दैनन् भन्ने विगतदेखि कै घटनाले प्रमाणित गरिसकेको छ । यस्ता ेअवस्थामा अरुको कुरा सुनेर आत्मनिर्णय गर्ने अधिकार प्रयोग गर्न मतदाता स्वयम् जागरुक हुनुपर्छ ।

अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको मतदाता शिक्षा नै हो । मतदाताको अमूल्य मत खेर नजाओस् यसतर्फ निर्वाचन आयोग, राजनीतिक दलहरु, नागरिक समाज र सरोकार राख्ने निकायहरुले गम्भीर हुनुपर्छ । त्यसका लागि कार्यकर्ता, कर्मचारी वा स्वयम्सेवकहरु खटाएर मतदातालाई मतदान गर्ने तरिकाका बारेमा सुसूचित गराउनु पर्दछ । महादान भनिने मतदानले नै समुदाय, समाज र राष्ट्रको दिशानिर्देश गर्ने भएकाले यसतर्फको गाम्भीर्य तत्कालको खाँचो हो । मतदाताले स्वतन्त्र, निष्पक्ष, भयरहित तथा दवावमुक्त वातावरणमा मतदान गर्न पाउनुपर्छ, त्यसको परिवेश निर्माण गर्ने दायित्व सरकार, आयोग र दलहरुको हो । जसले जिते पनि जनताको सेवक नै आउने भएकाले द्वेष र आग्रहमुक्त भएर निर्वाचन निर्विध्न सम्पन्न गर्न सबै पक्षको इमान्दार सहकार्य चाहिन्छ । यसले मात्र प्रजातन्त्रको सौन्दर्यलाई कायम राख्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here