केचनाका महिलाको स्वास्थ्य जाँच

0
714

कचनकवल।

ग्रामीण क्षेत्रका महिलामा पाठेघरमा क्यान्सरको जोखिम उच्च रहेको बताइएको बेला कचनकवल गाउँपालिकामा भने क्यान्सरको जोखिम न्यून रहेको पाइएको छ ।

चेतना अभावका कारण रोग लुकाएर बसेका गाउँका महिलाहरुको पाठेघर र प्रजनन् सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहारा नेपालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका महिलामा यस्तो पाइएको हो । सहकारीले यसअघि झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्ज र वाह्रदशी गाउँपालिकाको राजगढमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । त्यस ठाउँका महिलामा पाठेघरको क्यान्सर र यौनजन्य रोग अधिक पाइएको बताइएको छ ।

यता बनियानीमा भएको शिविरमा थोरैमा मात्र यस्तो समस्या देखिएको बताइएको छ । सहारा नेपालको जीवन वरदान कार्यक्रमअन्तर्गत झापा र मोरङका ग्रामीण क्षेत्रमा शिविर सञ्चालन भइरहेको छ । आफ्ना सदस्य र लघुवित्त समुदायलाई लक्षित गर्दै सहाराले समस्याका रुपमा रहेको पाठेघर रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यक्रम संयोजक भक्त खड्काले जानकारी दिए ।

एक स्थानको स्वास्थ्य शिविरमा सहाराले एक लाख रुपैयाँको हाराहारीमा खर्च गर्दै आएको छ । शिवगञ्ज, राजगढ र बनियानीमा विवाहित महिलाको स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले महिलामा सेतोपानी बग्ने साझा समस्या रहेको निष्कर्ष निकालेका छन् । त्यस्तै, पाठेघर झर्ने, समयमा महिनावारी नहुने, पाठेघरको मुखमा घाउ, मासु पलाउनेजस्ता प्रजनन् सम्बन्धी रोगबाट महिलाहरु पीडित रहेको बताइएको छ ।

ग्रामीण भेगका महिलामा सरसफाई सम्बन्धी ज्ञान र सचेतना नभएको, सुरक्षित यौन सम्बन्ध नभएको तथा भाइरलका कारण पनि पाठेघरको समस्या देखिँदै आएको चिकित्सकको भनाइ छ ।बिएण्डसी अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा भइरहेको शिविरमा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाले परामर्श लिएको खड्काले जानकारी दिए ।

रोगको जटिलता हेरेर सहाराले प्राथमिकतामा राखेर पीडित महिलाहरुको उपचार पनि निःशुल्क गर्ने योजना बनाएको छ । शिविरमा जाँच गराउन आएका केही महिला भने डरका कारण चिकित्सकको परामर्श नलिइकन फर्किए ।
बनियानी बजारछेउमा घर भएकी सर्जिउन निसा आफ्नो पाठेघर देखाउन डराइन् । ३० वर्षीया उनका तीन सन्तान छन् । ‘शिक्षाको कमीका कारण ग्रामीण महिलाहरु अझै पनि रोग लुकाउन बाध्य छन्’– जीवन वरदान कार्यक्रमकी संयोजक सुशीला बोहोराले भनिन् –‘धार्मिक विश्वासले गर्दा पनि उनीहरु धकाउने गरेका छन् ।’

बनियानीकै ५० वर्षीया गुलसेरा मिया पनि शिविरसम्म आएर जाँच नगरी फर्किइन् । नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगका भइरहेको शिविरमा पाठेघरको क्यान्सर भए–नभएको पत्ता लगाउने ल्याब परीक्षण पनि गरिएको थियो । तर, उनीहरुले लाजका कारण परीक्षण गराउन मानेनन् । प्राविधिकले पाठेघरको क्यान्सरको अवस्था के छ भनेर भिजुवल इन्स्पेक्सन विथ एसेटिक एसिड (भिआइए) परीक्षण गरेर रोग पत्ता लगाउने गरेको संघकी कल्पना विकले बताइन् ।

कचनकवलको शिविरमा १ सय ५० जना महिलाले स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श लिएका थिए । त्यसमध्ये तीनजना महिलामा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको छ । त्यस्तै, दुईजना महिलाको परीक्षण यकिन नभएकाले बायस्पी गर्नुपर्ने देखिएको संयोजक खड्काले जानकारी दिए । कचनकवलको शिविरमा १८ जनामा यौन संक्रमण, सातजनामा आङ खस्ने समस्या रहेको थियो ।

आठजना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने भएकाले अस्पताल आउन सल्लाह दिइएको छ । शिवगञ्जको शिविरमा २९ जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, ५० जनामा आङ खस्ने समस्या र १५० जनामा यौनरोग फेला परेको थियो । राजगढको शिविरमा १० जना महिलामा पाठेघरको क्यान्सरको पहिलो चरण, २२ जनामा आङ खस्ने समस्या र १०१ जनामा यौनरोग फेला परेको सहाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here